काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ ।
शुक्रबार (हिजो) राति डिउटी गरिरहेकै बेला एक्कासि उनी ढलेका थिए । राति नै उपचारका निम्ति उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए ।
शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
“जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका उहाँ एक इमानदार, कर्तव्यनिष्ठ एंव कुशल प्रहरी कर्मचारी हुनुहुन्थ्यो,” परिसरको शोक विज्ञप्तिमा उल्लेख छ, “उहाँको असामयिक निधनबाट नेपाल प्रहरी संगठनलाई र जिल्ला प्रहरी परिसर, काठमाडौं परिवारलाई अपूरणीय क्षति पुगेको छ ।”
परिसरले कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।