काठमाडौं: यहि अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले आक्रमण गरेको थियो। १० नेपालीसहित त्यहाँ कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
यस्तै उक्त आक्रमणको बदलामा इजरायले गाजापट्टीमा हवाइ हमला गरेको थियो। त्यसबाट करिब ७ हजार भन्दा माथि प्यालेस्टाइनी मृत्यु भइसकेको छ। इजरायलले गाजामा खाद्यान्न, पानी र बिजुलीको आपूर्तिमा कटौती पनि गरेको छ। हमासले हतियार र विस्फोटक पदार्थ बनाउन प्रयोग गर्ने भन्दै इन्धनको सबै आपूर्तिमा रोक लगाएको हो।
अहिले गाजा क्षेत्र शवले भरिएको छ। तर पनि इजरायलले गाजामा आकाश, जमिन र समूद्रबाट आक्रमण जारी राखेको छ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अब हमासविरूद्धको दोस्रो चरणको युद्ध सुरु भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले जबर्जस्ती स्थानान्तरण, सामूहिक सजाय र बन्धक बनाइएका घटनाबाट सुरू भएको युद्ध जारी रहेको बताएको छ।
सोही युद्धलाई विराममा लैजान आइतबार संयुक्त राष्ट्रसंघको महासभामा जोर्डनले प्रस्ताव राखेको थियो। गाजामा युद्धविराम गरी मानवीय सहायता लैजानका लागि उक्त प्रस्तावलाई नेपालसहित १२० देशले समर्थन गरेका थिए। अमेरिकासहित १४ देश उक्त प्रस्तावको विपक्षमा उभिएका थिए भने ४५ देश मतदानमा सहभागी भएनन्।
तर, गाजामा मानवीय सहायतका लागि संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई इजरायलले खारेज गरेको छ। इजरायली सैनिकले जमिनबाटै प्रवेश गरेर गाजाका नागरिकहरूलाई थप आतंकित बनाएको छ। अन्तर्राष्ट्रिय संघ संस्थाहरूले गाजाका नागरिकहरूको मानवअधिकार हनन भएको बताउँदै युद्ध रोक्न आह्वान गरेपनि इजरायलले गाजामाथिको आक्रमण रोकेको छैन।
यो बेला संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण भूमिका निभाउन नसकेको भन्दै आलोचना हुन थालेको छ। युद्ध रोक्ने प्रयास गर्नको साटो संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन्।
उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने तालिका तय भएको छ। उनी नेपालको पोखरा, नाम्चे र पोखरा समेत घुम्ने तालिका तय भएको छ। उनले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ।
पोर्तुगल गृह राष्ट्र भएका गुटेरेसको काँधमा विभिन्न देशका सरकारहरूसँगको समन्वयमा सुधार र जवाफदेहितालाई सुदृढ गर्नेलगायत शान्ति स्थापना कार्यलाई बलियो बनाउने प्रयास गर्नुपर्ने जिम्मेवारी छ। तर, उनी भने इजरायलको खारेजीलाई बेवास्ता गर्दै गाजालाई बर्बाद हुनदिने अवस्था बनाइरहेका छन्।