काठमाडाैँ – महानगरपालिका र उपमहानगरपालिका सिट बाँडफाँटको विषय टुङ्ग्याउन सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ ।
सिट बाँडफाँटको विषय टुङ्ग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसिरहेको हो ।
सत्ता गठबन्धनले तीन दिनदेखि सिट भागबण्डामा निरन्तर छलफल गरे पनि टुंगो लगाउन सकेको छैन । सत्ता गठबन्धनका नेताहरूबीच आइतबार, सोमबार र मंगलबार आधा रातसम्म छलफल भए पनि महानगर र उपमहानगरको सिट बाँडफाँट टुंगो लाग्न नसकेको हो ।
तीन दिनसम्म भएको छलफल र समझदारीबमोजिम बुधबार त्यसलाई अन्तिम रूप दिन निर्णायक बैठक बसेको नेताहरूले दाबी गरेका छन् । ३० वैशाख सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । जसअनुसार महानगर र उपमहानगरको सिटको भागबण्डा केन्द्रबाट गर्ने सहमति गठबन्धनमा भएको छ ।
छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी छन् ।