कैलाली: डाक्टर अमृत राज जैशीले आफूले अवैध डेन्टल केयर सञ्चालन नगरेको बताएका छन्। महेन्द्रपोष्टले शनिवार ‘सेतीका डाक्टरको धनगढीमै अवैध संजिवनी डेन्टल !’ शिर्षकमा प्रकाशित गरेको समाचारको खण्डन गर्दै उनले आफू हाल सेती प्रादेशिक अस्पतालमा र्कारत नरहेको तथा संजिवनी डेन्टल आफ्नो नभएको दाबी गरेका हुन्।
उनले उक्त डेन्टर केयर धनगढी संजिवनी पोलिक्लिनिकले सञ्चालन गरिरहेको र आफू त्यहाँ कर्मचारीको रुपमा काम गर्ने बताएका छन्।
यस्तो छ उनले पठाएको खण्डन:
श्रीमान सम्पादक ज्यू
महेन्द्रनगर पोष्ट
विषय :– समाचार खण्डन गरि सम्प्रेषण गर्नेबारे ।
उपरोक्त विषयका सम्बन्धमा म डा अमृत राज जैशीको बारेमा हिजो तपाइको अनलाइन पत्रिकामार्फत सम्प्रेषण भएको मसँग सम्बन्धित समाचार पूर्णतह भ्रमपुर्ण र निराधार भएको र मसँग सम्पर्क समेत नगरी एकपक्षीय रुपमा मेरो नाम र फोटो अनि यस पहिले कार्य गरिरहेको सस्थाको नाम प्रयोग गरि मेरो व्यक्तिगत एवम व्यावसायिक जीवनमा असर पर्ने गरि झुटा एवम कपोकल्पित कुराहरुलाई लिएर समाचार बनाएर प्रकाशित गरेकोमा मेरो त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ । यसरी मेरो ब्यवसायिक एवम व्यक्तिगत जिवनमा मानहानी हुने गरि प्रकाशित उक्त समाचारका विरुद्ध म कानुनी लडाइ लाड्ने निर्णयमा पुगेको छु । यसका निम्ति सर्वप्रथम म नेपाल प्रेस काउन्सिललाइ अनलाइनमार्फत उजुरी समेत गरेको र यो सँगै तपाईंको सञ्चार माध्ययको सम्पादक ज्यूलाइ पनि यो भ्रमपूर्ण र कपोकल्पित समाचारलाइ खण्डन गरि सच्च्याउन अनुरोध गर्दछु ।
सञ्चार क्षेत्र भनेको राज्यको चौथो अंग हो यसैले यसमा मलाइ धेरै आस्था छ । पत्रकार खराब हुन सक्छन पत्रकारिता खराब हुन हुदैन र हुन दिनु हुँदैन पनि यसले राज्यका अरु अङ्गहरुलाइ सुसज्जित हुन र खबरदारी गरिरहन पर्छ । यदि सञ्चार क्षेत्र बलियो भएन भने देशको लोकतन्त्र नै मजबुत हुदैन । तर सम्वेदनशिल हुन पर्ने संचार क्षेत्र पछिल्लो समय व्यक्तिगत रुपमा आक्रमण गर्न एवम मानहानी गर्न प्रयोग हुँदै गरेको कुरा पटक पटक देख्दै आएका छौ । यसरी कसैसँग प्रतिसोध साध्नकै निम्ति जबर्जस्ती सत्यतथ्य बुझ्दै नबुझी आफै न्यायमूर्ती जसरी बैध र अवैध ठोकुवा गर्दै ठुला बिकाउ हेडलाइन लेख्नेहरुलाइ नियमन गर्नै पर्छ र यो जिम्मेवारी प्रेस काउन्सिलले राम्रो सँग गर्नेछ भन्नेमा म विश्वस्त छु ।
उक्त समाचार प्रकाशित हुनपूर्व मसँग कुनै पनि किसिमको सम्वाद नभएको र यो समाचार लेख्ने पत्रकारसँग अहिलेसम्म मेरो कुनै किसिमको ब्यक्तिगत दुस्मनी समेत नरेको र मैले उहालाई राम्रोसङ चिन्दा पनि नचिन्ने कुरा पनि जानकारी गराउँदछु ।
उक्त समाचारमा प्रकाशित ९० प्रतिशत कुराहरु झुटा छन जुन म सबुतसहित राख्न चाहान्छु ।
१. पहिलो झुट – संजिवनी डेन्टल मेरो हैन बरु यो त धनगढी संजिवनी पोलिक्लिनिकको हो म त्यँहा काम गर्ने कर्मचारी मात्र हो । यसरी मैले नै लगानी गरेर छुट्टै संचालन गरे जसरी प्रस्तुत गर्नुपर्ने विषय यसमा छदै छैन ।
२. दोस्रो झुट – स्वास्थ्य कार्यालय धनगढीबाट २०८०/६/२१ गते ३ वर्षका निम्ति धनगढी संजिवनी पोलिक्लिनिक राष्ट्र बैंक चोकमा सन्चालनको अनुमती पाएको छ जसमा स्पष्ट रुपमा ओपीडी सेवा, डेन्टल सेवा, रेडियो इमेजिङ सेवा, प्रयोगशाला, निसन्तान दम्पती उपचार सेवा गरि पाँच सेवा चलाउन अनुमती पाइसकेको छ र त्यही अनुरुप नै डेन्टल पनि सन्जिवनी पोलिक्लिनिककै मातहत चलिराखेको हो । यसमा कुन कुरा बैध हो कुन अवैध हो यसको फैसला पत्रकारले गर्नुहोला !
३. तेस्रो झुट – सेती प्रादेशिक अस्पतालका डाक्टर भनेर जसरी आरोपित गराउन खोजिएको छ हो पहिले म सेतिमा कार्यरत थिए नेपाल सरकारको छात्रवृत्ति अन्तरगत २ वर्षको करार सेवाको आफ्नो कार्यकाल साकेर बसेकाले हाल म सेतीमा कार्यरत छैन ।
४. चौथो झुट – सन्जिवनी डेन्टल हाल बन्द होइन अहिले धनगढी सन्जिवनी पोलिक्लिनिक र त्यसै अन्तरगतको सम्पूर्ण सेवाहरु ओपिडी सेवा, प्रयोगशाला सेवा, रेडियो इमेजिङ सेवा पुर्ण रुपमा सुचारू भैरहेको छ ।
५. पाचौं झुट – स्वास्थ्य कार्यालयले अनुमती दिन ढिलाइ गरेको बताए भनेर मैले भन्दै नभनेको कुरालाइ समेत मेरो बोली बनाएर मलाइ समेत कोट गर्न सफल पत्रकार महोदयले यो समाचार लेख्नु÷प्रकाशन गर्नु पुर्व मलाइ फोन÷म्यासेज केहि पनि नगरी आफै समाचार होइन एउटा कथा लेख्नुभएछ ।
लोकतान्त्रिक गणतन्त्र छ देशमा बोल्न पाइन्छ, लेख्न पनि पाइन्छ, अरुलाइ प्रश्न सोध्न पनि पाइन्छ, खबरदारी गर्न पनि पाइन्छ तर नपाइने भनेको पत्रकारिताको नाममा यसरी अरुलाइ पुर्णतया निराधार र प्रतिसोधपुर्ण आरोप लगाएर यसरी उसको प्रतिष्ठा माथि आच आउने गरि लेख्न पाइँदैन । यस्ता प्रवृत्तिको अन्त्य गर्न जरुरी छ र हुनुपर्छ ।
यसरी सम्पूर्ण रुपमा गलत कुराहरु समेटी यस्तो भ्रमपूर्ण समाचार प्रकाशित गरि मेरो मानहानी हुने कार्य भएकाले उक्त समाचारलाई मैले माथि प्रस्तुत गरेका आधारहरुलाई समेट्दै उक्त समाचारलाइ सच्चाएर पुन सुसज्जित प्रेसको भूमिका निर्वाह गर्न यो अनुरोध पेस गर्दछु । यदि यसलाइ समेत नजरअन्दाज गरेमा मेरो मानहानी हुने कार्य भएकाले म थप कानुनी उपचारतर्फ जाने समेत जानकारी गराउन चाहान्छु ।
हाम्रो भनाईः महेन्द्रनगर पोष्टले उक्त समाचार सम्प्रेष्ण गर्नुपूर्व डा अमृत राज जैशीलाई फोन सम्पर्क गरेर प्रतिक्रिया लिएको थियो। उनले भनेजस्तो उनीसँग कुनै प्रतिक्रिया नलिइएको कुरा सरासर झुटो होे, उक्त झुट प्रमाणीत गर्न हामीसँग उनीसँग गरिएको फोनको रेकर्ड उपलब्ध छ। उक्त फोन रेकर्ड अनुसार डा. जैशीले आफूहरु डेन्टर केयरको दर्ता र अनुमति लिने प्रक्रियामै रहेको र स्वास्थ्य कार्यालयले अनुमती दिन ढिलाइ गरेको बताएका थिए। उनले अनुमतिका लागि १ वर्ष कुर्दा पनि फाइल कार्यालयमा थन्किएको समेत बताएका थिए।