डडेल्धुरा : डडेल्धुराका एक व्यक्ति दिउँसै राँको बालेर न्याय खोजी रहेका छन्। जिल्लाको परशुराम नगरपालिका- ३ (बुङा) शीर्षका दत्तराम पाण्डेय न्यायकाे खाेजीमा दिउँसै राँको बालेर न्याय खोजी रहेका हुन्।
पाण्डेय आफ्नो जमिन फिर्ता पाउ भन्दै विगत लामो समयदेखि आन्दोलित छन्। परशुराम नगरपालिका- ४ सुनखर्कमा रहेको परिगाउँ नहरको मुलदेखी पूर्व, सुनखर्कदेखी पश्चिम, रज्यौडा बस्तीदेखी दक्षिण र रगुन नदीदेखी उत्तरमा रहेको २०५३ सालदेखी भोगचलन गर्दै आएको करिब चार विगा जमिन आफ्नो भएको र उक्त जमिन फिर्ता पाउँ भन्ने उनको माग छ।
‘२०५३ सालमा मेरो परिवारसहित स्थानीयहरुले सुनखर्कमा खनजोत र टहरा निर्माण गरेका हौं,’ उनले भने, ‘अरु स्थानीयको जमिन भोगचलनमा रहेको भए पनि मेरो मात्रै टहरा स्थानीयले कुटपिट गरि लखेटी हटाइयो।’
सुनखर्क, भजनथलासहित भित्री मधेस क्षेत्रका अधिकांश भूमि ऐलानी भएको उनको दाबी छ। तर, आफूले खनजोत गरि भोगचलनमा ल्याएको जमिन खोसिएकोमा दुखी छन्, उनी।
पटकपटक हरेक निकायमा धाउँदा पनि न्याय नपाएको गुनासो उनको छ। ०७४ देखि नगरपालिकाको न्यायिक समितिमा उनी निरन्तर धाइ रहेका छन्।
आफ्नो जमिन फिर्ता पाउनु पर्ने माग पाण्डेयको छ। उनी भन्छन्, ´यदि मेरो जमिन फिर्ता हुन्न भने अन्य व्यक्तिको जमिन पनि सरकारी/ऐलानीमा परिणत होस्।`
पटक -पटक नगरपालिकाकाे मुलगेटमा धर्ना दिएका पाण्डेयले जाेगबुडा बजारमा दिउँसो राँको बालेर न्याय खोजेका हुन्।