धनगढी : कैलालीमा दशैंका बेला महिलालाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो।
गम्भीर घाइते भएकी रावतको सोही दिन उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन।
इलाका प्रहरी कार्यालय मालाखेतीले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि महेन्द्रनगरसम्म जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले सीसीटीभी फुटेजमा घटनाको समयमा उक्त क्षेत्रमा देखिएका कारको बनावट बनाएर अनुसन्धान गर्ने क्रममा महिलालाई ठक्कर दिने कार पत्ता लागेको जानकारी दिए।
उनकाअनुसार रूपन्देहीको तिलोतमा नगरपालिका- ११ महुबारी बस्ने ५० वर्षीय ज्ञानराज पाण्डेले चलाएको बा१५च ८४७० नम्बरको कारले ठक्कर दिएको खुलेको हो।
भारतको नैनीताल घुम्न गएका उनी महिलालाई ठक्कर दिएर भागेका थिए। घटनापछि कञ्चनपुरको सीमावर्ती बजार वनबासामा कार मर्मत गरेर बुटवल फर्किएको पाइएको प्रहरीले जनाएको छ।
पाण्डेलाई बुटवल प्रहरीको सहयोगमा आइतबार पक्राउ गरिएको डीएसपी बरालले बताए। कारसहित नियन्त्रणमा लिइएका पाण्डेमाथि थप अनुसन्धान भइरहेको छ।