धनगढी: धनगढीमा सरकारी सम्पत्ति ‘कौडीको भाउ’मा भाडामा लगाइएको पाइएको छ। धनगढीस्थित कभर्डहलको जग्गामा बनेको हललाई न्यून रकममा भाडामा लगाइएको पाइएको हो।
तत्कालीन धनगढी नगर विकास समितिले कैलाली जिल्ला खेलकुद विकास समितिलाई भोगचलन गर्न भन्दै प्रदान गरेको सो कभर्डहलको जग्गामा एक हल निर्माण गरिएको थियो।
सोही हललाई तत्कालीन दिपक सिंहको अध्यक्षतामा रहेको समितिले खेलकुद प्रयोजनमा लगाउनुको सट्टा व्यवसायीलाई भाडामा दिएको थियो।
हालका कैलाली जिल्ला खेलकुद विकास समितिका प्रमुख (हाकिम) दिपक सिंहले सो संरचनालाई २०७६ सालमा भाडामा लगाइएको जानकारी दिए। उनका अनुसार सो हलका सटरहरु र माथिल्लो भाग पुरै भाडामा लगाइएको हो।
यस्तै सिंहले तत्कालीन हाकिम टोप बिष्टले टेन्डर निकालेर ७६ सालमा सटरहरु र हल भाडामा लगाएको बताए। भाडाबारे आफूलाई थाहा नभएको उनले दाबी गरे।
उता तत्कालीन हाकिम टोप बिष्टले भने १० वर्षका लागि हल घराना चुलोलाई दिइएको बताए। अन्य सटरहरुको भने छुट्टै टेन्डर भएको उनले बताए। तत्कालीन अवस्थामा २०७६ सालदेखी लागू हुनेगरी घरानाका सञ्चालक दिपेन्द्र चन्दसँग २४ हजार भाडादर कायम गरि सम्झौता गरिएको बिष्टले बताए।
यस्तै प्रत्येक २ वर्षको अवधिमा १० प्रतिशतका दरले भाडा बढ्ने सम्झौता पनि भएको उनले बताए। तत्कालीन हाकिम बिष्टले मापदण्डमा टेकेरै भाडामा दिइएको दाबी गरेपनी खेलकुदका सरोकारवालाहरुले भने सेटिङमा कौडीको भाउमा भाडामा दिइएको आरोप लगाएका छन्।
कौडीको भाउमा भाडा तिरेर सरकारी सम्पत्तिमाथि घराना चुलोका मालिक चन्दले रजगज चलाएको उनीहरुको आरोप छ। यस्तै सो भाडा रकम पनि खेलकुद विकास समितिका पदाधिकारीसहित कर्मचारीले मिलेमतोमा हिनामिना गरिरहेको स्रोतको दाबी छ।
त्यस्तै घरानाका सञ्चालक दिपेन्द्र चन्दले भने ६८ हजार जति भाडा भएको हुनसक्ने भन्दै सो विषयमा आफूलाई थाहा नभएको बताए।