धनगढी : भारतबाट घर फर्किरहेका दुई जना नेपाली कामदार बाटोमै लुटिएका छन्। भारत उत्तराखण्डको हरिद्वारमा लुटिएका उनीहरू अलपत्र अवस्थामा बुधबार गड्डाचौकी पुगेका हुन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ लुटिएका हुन्। सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको हो।
दुवैजना लेह–लद्दाखमा मजदुरी गरेर तिहारका लागि घर फर्किरहेका थिए। हरिद्वारमा सुर्खेत घर बताउने एक जना नेपालीले होटेलमा लगेर चिया बिस्कुट खान दिइ उनीहरूलाई बेहोस् बनाएका थिए।
बुधबार बिहानै गड्डाचौकी पुगेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको छ।
Facebook Comments Box