काठमाडौं : आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
टीयू मैदानमा कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्। नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। केसीले कश्यप प्रजापतीलाई आउट गरेका हुन्। केसीको बलमा आशिफ शेखले क्याट आउट गराएका हुन्। प्रजापतीले ५ बलमा ८ रन बनाएर पेभेलिएनमा फर्किए। उनले दुई चौका हानेका थिए।
समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन्। आजको खेलबाट समूह विजेता बन्ने लक्ष्य रहेको छ। छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।ओमानले पनि पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो।
कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्।
समूह एका विजेताले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ।
फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।