काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रपतिले गरेको कैद मिनाहा बदर गर्दै योग ढकाल (रिगल) लाई कैद गर्न परमादेश दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ।
बाँकेको न्यूरोड क्षेत्रबाट रिगललाई पक्राउ गरिएको बाँकेका एसपी सुभास बोहोराले जानकारी दिए।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले रिगलको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै रिगल कारागारमुक्त भएका थिए।
०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतन मानन्धरमाथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए।
मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालतमा गई आत्मसमर्पण गरेका थिए। त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पूर्पक्षका लागि जेल पठाइएका थिए।
कैद मिनाहापछि रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारतीय शेर्पाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन्। मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै रिगललाई बाँकी रहेको कैद सजाय दिन भनेको थियो।