डडेल्धुरा : डडेल्धुरा सदरमुकाम नजिकैको चिम्रिकोटदेखि टुडिँखेल जोडने सडक स्तरोन्नतीका क्रममा निर्माण व्यवसायीले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरिरहेको भन्दै स्थानीय युवाहरुले निर्माण कार्य रोकेका छन्।
अमरगढी नगरपालिका–४ खलंगास्थित जयबाबा घटाल युवा क्लवको अगुवाईमा गुणस्तरहीन काम भइरहेकोले सम्बन्धित कार्यालयसँग अनुरोध गरेर सडक निर्माण कार्य रोकिएको स्थानीय युवा खगेन्द्र ठकुराठीले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकार मातहतको भौतिक पुर्वाधार विकास कार्यालय डडेल्धुराले उक्त कच्ची सडकमा नाली निर्माणका लागि पूजा एण्ड पवन निर्माण सेवा डडेल्धुरासँग सम्झौता गरेर निर्माण कार्य भइरहेको हो।
सडकको नाली ढलान गर्ने क्रममा माटो मिसिएको बालुवा र गुणस्तरहीन गिट्टी प्रयोग गरेको पाइएपछि तत्काल निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई जानकारी गराएर निर्माण कार्य रोक्न युवाहरुले दबाब दिएका हुन्।
निर्माण कम्पनीले कार्यालयसँग समन्वय नगरेर कामका बारेमा सरसल्लाह नगरी गुणस्तरहीन सामाग्री प्रयोग गरेर निर्माण कार्य गरिरहेको पाइएकाले तत्काल काम रोकिएको पुर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ।
गुणस्तरीय निर्माण सामाग्री प्रयोग गरेर डिजाइन, स्टीमेट अनुसार काम गराउन तत्कालन कार्यस्थलमा गुणस्तरीय सामग्री ल्याउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको र गुणस्तरीय सामाग्री नल्याएसम्म काम रोकिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका सव इन्जिनियर रामचन्द्र यादवले जानकारी दिए।
उनले युवाहरुले विकास निर्माण कार्यमा निगरानी राख्न जरुरी भएको बताउँदै युवाहरुको सकरात्मक सहयोगले विकास निर्माण कार्य गुणस्तरीय हुने जिकिर गरे।