काठमाडौं : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई भकुरेका छन्।
बिहीवार दिउँसो आफ्नो कार्यकक्षमा प्रवेश गरी उपाध्यक्ष कुर्मीले हातपात गरी गालीगलौज गरेका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताएका छन्।
वादविवादका क्रममा ज्ञवालीको ‘नेम प्लेट’ र उनको कार्यकक्षमा रहेको टेबुलको सिसा पनि फुटेको छ।
उपाध्यक्ष कुर्मीले चढ्दै गरेको गाडी आफूलाई नचाहिने भन्दै गत असार २५ गते फिर्ता गरेका थिए। त्यसयता अधिकृत ज्ञावलीले चढ्दै आएका थिए।
लोसपाबाट निर्वाचित अध्यक्ष कमलेशशरण चौधरी र माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष कुर्मीबीच सुरुदेखि नै विवाद हुँदै आएको छ।
विवादकै कारण गाउँसभा, बजेट पारित हुन हरेक वर्ष ढिला हुँदै आएको छ। यो विवादमा अब कार्यकारी अधिकृतसमेत जोडिएका छन्।
ज्ञवालीका अनुसार कार्यकक्षमा आएर गाडी चाहियो भनेर उनका चालकले भनेका थिए। त्यसपछि उपाध्यक्ष कुर्मी सीसीटीभी अफ गरेर उनको कार्यकक्षमा गएर उनीमाथि हातपात गरेका हुन्।
गाडी चाहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले आरोप लगाए पनि उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र कामविशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको दावी गरेका छन्।
अधिकृत ज्ञवालीले सरकारी गाडी दैनिक घर लैजाने र दुरुपयोग गरिरहेको उपाध्यक्षको आरोप छ। कार्यपालिका बैठकले निर्णय गरेर गाडी आफूलाई प्रयोग गर्न दिएको अधिकृत ज्ञवालीले बताए।
कार्यपालिका बैठकले फिर्ता मागेमात्र आफूले दिने भनेपछि उपाध्यक्ष आक्रोशित भएर विवाद बढ्दै गएको थियो। गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
उनलाई कारबाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन्। त्यस्तै अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटर ज्ञापनपत्र दिई कडा कारबाहीको माग गरेका छन्।