धनगढी: धनगढीको संजिवनी पोलिक्लिनिकलाई सट्याकसुटुक सेवा सञ्चालनको इजाजत दिइएको पाइएको छ। स्वास्थ्य कार्यालय कैलालीले संजिवनीलाई सट्याकसुटुक पोलिक्लिनिकको अनुमति प्रदान गरेको हो।
इजाजतपत्रमा उल्लेख भएअनुसार संजिवनीले असोज १८ गते अनुमतिका लागि निवेदन दिएकोमा सोही महिनाको २१ गते नै सेवा सञ्चालन स्वीकृति दिइएको छ। जबकी त्यस अवधिमा स्वास्थ्य कार्यालयले पोलिक्लिनिकको अनुगमन तथा निरीक्षण गरेरमात्र अनुमती दिनुपर्ने हुन्छ।
स्रोतका अनुसार धनगढी उपमहानगरपालिकाबाट अस्पताल सञ्चालनको अनुमति नपाएपछि सो संजिवनी अस्पतालले पोलिक्लिनिक चलाउन स्वास्थ्य कार्यालयमा निवेदन चढाएको थियो। निवेदनपछि स्वास्थ्य कार्यालय कैलालीबाट सरुवा भैसकेका तत्कालीन निमित्त हाकिम लालबहादुर धामीले सट्याकसुटुक स्वीकृति दिएका हुन्।
आफैंले बझाङस्थित स्वास्थ्य कार्यालयमा सरुवा मागेका धामीले तत्कालीन अवस्थामा आफ्नो सरुवा भैसकेका बेला संजिवनीलाई आफैंले इजाजतपत्र प्रदान गरेको स्वीकारे। उनले आफ्नो भदौ महिनामै सरुवा भएको र असोजको अन्तिमतिर आफूले संजिवनीलाई अनुमति दिएको बताए।
सातौं तहका जनस्वास्थ्य अधिकृत धामी त्यसबेला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख थिए। कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ।