धनगढी : कैलाली र कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा प्रहरीले १४ लाख बढिको सामान बरामद गरेको छ। दुवै जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएको १४ लाख २९ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको हो।
धनगढी उपमहानगरपालिका–१० को सिमलघाटबाट ७६ हजारको लेडिज सुट, उनी स्वीटर, प्लाष्टिक माला, वडा नम्बर २ को भन्सार रोड नजिकबाट ४० हजारको चिनी, चप्पल, पित्तलको दियो, घण्टी, सप्तरंगी टिका लगायतका सामान र भजनी नगरपालिका–५ को लखरैयाबाट १२ हजार बराबरको पोटास गरि एक लाख २८ हजारको अवैध सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट ७६ हजारको लेडिज सुट, जेन्स कुर्ता सुरुवाल, लेडिज उनी स्वीटर बरामद गरिएको छ भने भीमदत्त नगरपालिका–४ बाट बसन्त जोशीले संचालन गरेको महाकाली एग्रोभेट पसलबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी पाँच लाख ५० हजारको मल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
दोधाराचाँदनी नगरपालिका–१ को बयल बन्द नजिकबाट भन्सार छली गरि अवैध रुपमा भारततर्फ पठाउने उद्देश्यले लुकाइएको छ लाख ७४ हजारको सामान पनि बरामद गरिएको छ।
सय पेटी लाईटर र ६० किलो ओखर बरामद गरिएको हो। अवैध सामानसँगै भारतको बनबास घर भएका ३८ वर्षीय दिपक जोशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।