धनगढी : सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ। शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दे ५ दिनका लागि नेपाल टेलिकमले फोन तथा म्यासेज निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको हो।
उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनकाअनुसार उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ।
‘नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गएराति गएको शक्तिशाली भूकम्पमा दिवंगत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा चीर शान्तिको कामना गर्दछौं। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराइन्छ। यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रूपमा सुचारु राख्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं।’