विराटनगर– विराटनगरमा नेपाली कांग्रेसले गठबन्धनको निर्णय नमान्ने जनाएको छ । सिट बाँडफाँडका लागि गठबन्धनले गरेको सहमतिप्रति आपत्ति जनाउँदै विराटनगर महानगर समितिले गठबन्धनको निर्णय नमान्ने जनाएको हो । समितिका सभापति दीपक चापागाइँले विराटनगरमा कांग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने बताए।
गठबन्धनको भागबण्डामा उपप्रमुख पद जनता समाजवादी पार्टी (जसपा)ले पाएपछि विराटनगर कांग्रेसले विरोध गरेको हो। नगरसभापति चापागाईंले एक्लै चुनाव लड्ने अडान कायमै रहने र विराटनगरभित्र कुनै दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारे।
गठबन्धनको निर्णय केन्द्रीय कार्यसमिति, सम्पादन समिति र संसदीय बोर्डबाट पास भए वडा समिति सभापतिहरूसँग छलफल गरेर नयाँ धारणा सार्वजनिक गरिने उनले बताए। विराटनगरमा कांग्रेसको संगठन मजबुत भएकाले तालमेलको आवश्यकता नरहेको उनको भनाई छ।
२०७४ को स्थानीय निर्वाचनमा विराटनगरको प्रमुख र उपपप्रमुख सहित ७ वडाध्यक्ष कांग्रेसले जितेको थियो।
महानगर समितिले महानगरको प्रमुख र उपप्रमुखमा आकांक्षा राख्नेहरूको नाम केन्द्रीय समितिमा बुझाइसकेको छ । समितिले मेयरका दाबेदार डा. डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दिरा कार्की, दीपक चापागार्ई र गोपाल रेग्मी र उपप्रमुखमा नीरज कोइराला, झुमा गौतम, प्रमीला गच्छदार, प्रमीला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम केन्द्रीय समितिमा सिफारिस गरेको जनाएको छ ।