डडेल्धुरा : केही दिनयता डडेल्धुरामा चोरीका घटना बढ्दै गएको पाइएको छ । जिल्लाका फरक–फरक तीन स्थानमा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुराको परशुराम नगरपालिका–४ लटेरोडा कटालस्थित वडाकार्यालयमा तोडफोड गरी चोरी भएको छ । कात्तिक १५ गते राति दुईजनाको समूहले कार्यालयको मुल गेटको ताला फुटाएर चोरी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
कार्यालयको मुल ढोकामा रहेको सीसीटिभी क्यामेरा फुटाएर गेटको ताला तोडेको प्रहरीको बताएको छ । कार्यालयभित्र रहेका फर्निचर तोडफोड गरि राजस्वबापत संकलन भएको १३ हजार ८ सयसमेत चोरी भएको वडा सचिव डम्बर साउँदले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा जडित सीसीटिभी क्यामेरा र क्यामेराजडित सिपियू समेत चोरिएको छ । चोरी गरेको आरोपमा प्रहरीले हिजो परशुराम नगरपालिका-४ कटाल घर भएका २३ वर्षीय नरेन्द्र नेगी र सोही ठाँउ बस्ने वर्ष १९ का हरि थापालाई पक्राउ गरेको छ ।
उनीहरुमाथि पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीका सूचना अधिकारी इन्सपेक्टर कुसुम नायकले बताए।
यस्तै अमरगढी नगरपालिका–५ विद्युत रोडमा रहेको एक घरबाट सुन चोरी भएको छ । अस्ति शुक्रबार तारा बोहराको घरमा बस्ने उत्तमसिंह कार्कीको कोठाबाट साढे पाँच तोला सुन चोरीएको जानकारी आएको नायकले बताए । उनले घटनाका बारेका अनुसन्धान चलिरहेको जानकारी दिए ।
यसैगरी अमरगढी नगरपालिका–११ का शिवराज बोहराको घरबाट नगद चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। उनकै भतिजा नाता पर्ने नाबालकलाई चोरी गरेको आरोप पक्राउ गरिएको इन्सपेक्टर कुसुम नायकले जानकारी दिए।
उनका अनुसार बालकबाट चोरी भएको ३१ हजार बरामद गरिएको छ । तर, पीडित बोहराले भने आफ्नो घरबाट ४८ हजार चोरीएको बताएका छन् ।