काठमाडौं : विहे गर्न लिखित कागज गरेका नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द र स्वःघोषित सामाजिक अभियन्ता तारा बरालले कुरा फेरेकी छन् ।
उक्त कागजको वैधानिकतामाथि प्रश्न उठाउँदै चन्दले सामाजिक सञ्जालमा लगातार स्टाटस लेखेर बिहे नगर्ने बताएपछि बरालले पनि मन फेरेकी हुन् । आज फेसबुकमा उनले लेखेको लामो स्टाटसमा आफूलाई बिहे गर्ने कुनै रहर नभएको तर चन्दकै आग्रहमा उक्त कागज गरिएको उल्लेख छ ।
‘मलाई बिहे गर्नसँग त्यत्रो शोख छैन त्यसमाथि परिवारको सल्लाह बिना अपर्झट गरेको कागजले पछि सम्झिदै लाँदा मलाई नै पारिवारिक, कानुनी तनाव धेरै नै थपिएको थियो’, उनले भनेकी छन्, ‘सबैले सोध्न थालेपछि के गरेँ गरेँ भनेर झनै तनाव थपिएको थियो । यो काण्डले हामीलाई हैन जहिल्यै यसो गरे पनि नहुने, उसो गरे पनि नहुने उल्टो खेद्नेहरुलाई चाहिँ ठिक पारेको रहेछ । पछि जे होस् मलाई चासो छैन, रहर पनि छैन ।’
बरालले हिजोसम्म भने चन्दले आफूलाई बिबाह गर्नैपर्ने आशयका स्टाटस र कमेन्ट लेखिरहेकी थिइन् । चन्दले लेखेको स्टाटसमा कमेन्ट गर्दै उनले आफूमाथि धोका भएको बताएकी थिइन् । उनकै आग्रहमा सहमतिको कागज गरेको र त्यसलाई सार्वजनिक गरिएको बरालको दाबी थियो ।
आफूहरुले योजनामै यो सबै नाटक रहेको बताएकी बरालले लेखेकी छन्, ’चन्द सरको उक्त आइडियाले बल्ल म दानवहरुका ताण्डवबाट चोखिएर हिजोकै जीवनमा हुन पाएँछु । म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर!हात्ती लम्किदै गर्छ,कुकुरहरु भुक्दै गर्छन् । मलाई मुद्दा लगाउँनेहरु एकदिन मेरै सामु कुहिएरै मर्नेछन् । ॐ पाथिभरा माता ! ममाथि जति अन्याय गरिराछन्, तपाईंसँग पुगेर लाख वत्ती बाल्दैमा धर्मात्मा हुदैनन्, पापी मनका बत्तीले उनैलाई जलाइदिनुस्, पापीहरुको छानीछानी अन्त्य गरिदिनुस् । ॐ नमोः शिवाय! ॐ नमो भगवते वाशुदेवाय !