काठमाडौं : रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ।
रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो। जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो।
जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले केही दिनदेखि उक्त मुद्दामा बहस चलिरहेको र सबैको बहस सकिएपछि यही हप्ताभित्र फैसला सुनाउने तयारी रहेको बताए।
२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। उक्त घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो।
बम विस्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले उक्त विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
उक्त मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए। उच्च अदालत वीरगन्जले २०७६ माघ २४ गते जिल्लाको आदेश नै सदर गरेको थियो।