कञ्चनपुर : तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ। वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।
प्लाष्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए। अटेर गरेर प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारवाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उनको भनाइ थियो।
उनका अनुसार नगरपालिका क्षेत्रमा तीन किसानलाई अनुदान रकम उपलव्ध गराई व्यवसायिक खेतीमा संलग्न गराइएको छ। अन्य किसानलाई पनि व्यवसायिक फूल खेती गर्नका लागि अनुदान दिने तयारीमा रहेको उनले बताए।
नगरप्रमुख ओझाले घर आँगनमै फुलेको फूल प्रयोग गर्न नगरबासीसँग आग्रहसमेत गरे। प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने जिल्लाकै पहिलो नगरपालिका कृष्णपुर रहेको छ। फूलको व्यवसायिक खेती गर्दै आएका किसानले यस निर्णयको प्रशंसा गरेका छन्।