पाल्पा: पाल्पामा टिप्परले किचेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका –२ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आले रहेकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरीका अनुसार बुधवार बिहान निस्दी गाउँपालिका –७ स्थित ज्यामिरे–अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा बोकेर नवलपुरतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्पर ब्रेकमा समस्या आउँदा भित्तामा ठोक्किन पुगेको थियो।
ब्रेक फेल भएपछि टिप्परबाट हामफाल्ने क्रममा टायरले किचेर आलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। उनका अनुसार टिप्परबाट हामफाल्दा अन्य ३ जना घाइते भएका छन्।
घाइते हुनेमा निस्दी गाउँपालिका ७ की २५ वर्षीया हिमाली आले, टिप्पर चालक मकवानपुर मनोहरी ९ का २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुर हेटौँडा ९ का २४ वर्षीय आशिष सुनार रहेका छन् ।
उनीहरूलाई उपचारका लागि नवलपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।