डडेल्धुरा : राति १० बजेसम्म मात्रै देउसी-भैलो खेल्न जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आग्रह गरेको छ।
शुक्रबार डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेले एक सार्वजनिक सूचना जारी गर्दै राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेका हुन्।
सूचनामा भनिएको छ, ´जिल्ला सुरक्षा समिति, डडेल्धुराको कार्तिक २४ गते बसेको बैठकबाट नेपालीहरूको नजिक आइरहेका चाडहरू तिहार, छठ तथा नेपाल सम्वतको उपलक्ष्यमा सम्पूर्ण जिल्लावासीमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रा पर्वहरूलाई मर्यादित र व्यवस्थित बनाउने सन्दर्भमा देहाय वमोजिमका निर्णय भएकोले जानकारीका लागि सबैमा हार्दिक अनुरोध छ।`
तिहार (दिपावली), छठ तथा नेपाल सम्वत पर्व मनाउँदा छिमेकी, टोल / समुदाय र सार्वजनिक जीवनमा असर नपर्नेगरी मनाउन पनि प्रजिअ न्याैपानेले आग्रह गरे।
तिहार (दिपावली) मनाउने क्रममा पटका, आतिशवाजी जस्ता विस्फोटक पदार्थ ओसार-पसार, विक्रि वितरण तथा प्रयोग नगर्न, कृतिम फूलमाला प्रयोग नगर्न र कानूनले निषेध गरेका जुवा तास, खडगडे जस्ता क्रियाकलापहरू नगर्ने/नगराउने पनि प्रशासनले आग्रह गरेको छ।