अछाम – अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षका लागि नेकपा (एकीकृत समाजबादी)बाट पत्रकार तपेन्द्र कुँवर सिफारिस भएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एसले गाउँपालिकाको अध्यक्षका लागि पत्रकार कुँवरसहित चार जनालाई सिफारिस गरेको हो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य रहेका कुँवर
जिल्लाको साँफेबगरस्थित रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक हुन् । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार कुँवरले २०६४ सालमा धनगढीको दिनेश एफएमबाट पत्रकारिता सुरुवात गरेका थिए ।
स्नातकोत्तरसम्मको अध्ययन गर्नु भएका कुँवरले धनगढीबाट प्रकाशित हुने सुदूर सन्देश दैनिक, मनिङ्ग वेल दैनिक, पश्चिम् टुडे रेडियोमा समाचार प्रमुखको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।
पाँच वर्षदेखि रेडियो जनप्रिय एफएममा कार्यरत कुँवर अछामको विकास निर्माणदेखि सुशासन, सामाजिक रुपान्तरण विषयमा वहस गर्दै आएका छन् । ‘युवाहरुले गुनासो मात्र गरेर भएन,’ उनी भन्छन्’ बिग्रिएको राजनीति सुर्धान र गाउँको विकास गर्न आपनै अग्रसर हुनुपर्छ । त्यसैकारण उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’
गाउँपालिकाको अध्यक्षमा आफूले टिकट पाएमा गाउँको विकास, सुशासन र समृद्धिका लागि काम गर्ने उनले बताए । उनले सडकको स्तरउन्नति, शिक्षामा गुणस्तर, बहुमुखी क्याम्पसको स्थापना, जनताको जीवनशैली परिवर्तन गर्ने कार्यक्रम, वडाको भुगोल अनुसार कृषि र पशुपालन व्यवसायलाई पकेट क्षेत्रको अवधारणाबाट अघि बढाउनेलगायतका योजना आफूसंग रहेको बताए ।
पत्रकारिताको नजरबाट उठान गरेका सवाललाई जनप्रतिनिधि भएपछि समाधानको लागि लाग्ने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् । पार्टीले उम्मेदवार बनाएपछि आफूले चुनाव जित्ने र पालिकालाई अझ उचाइमा लैजाने उनको दाबी छ । अध्यक्षका अन्य उम्मेदवारले पनि आफूलाई नै अध्यक्षमा अघि सार्ने उनको विश्वास छ ।
गाउँपालिकाको अध्यक्षका लागि एकीकृत समाजबादीले पत्रकार कुँवरसहित बर्तमान अध्यक्ष हर्क साउँद, बम धामी र बम धामी सिफारिस भएका छन् । सिफारिस हुनेमध्ये राजेन्द्र कुँवर पनि पत्रकार हुन् । उनी समाजबादी प्रेस संगठनका सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।