दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवि क्षेत्रमा लाग्ने जोलजिवि व्यापार मेलाको तयारी थालिएको छ। मेला मंसिर १ गतेदेखि सञ्चालन हुनेछ।
नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको–७ जोलजिवी र भारतको जौलजिवी बजारमा हरेक वर्ष मंसिर १ गतेदेखि मेला लाग्ने गर्छ। काली र गोरी नदीको संगम जोलजिवीमा नेपाल र भारत दुवैतर्फ यो मेला लाग्ने त्यहाँका स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिए।
स्थानीय सरकारले विगतका वर्षहरु जस्तै यसवर्ष पनि मेला व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरेको छ। जोलजिवी मेलामा मालिकार्जुन गाउँपालिकाले यो वर्ष छ लाख रुपैँया बजेट खर्च गर्ने जनाएको छ। मेला अवधिभर नेपाल भारत जोड्ने जोलजिवी पुल राति साढे १० बजेसम्म खुल्ला गर्ने दुवै देशका अधिकारीहरुबीच सहमति भएको छ।
सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरी मेलाको शुरुवात गरेको सम्झनामा हरेक वर्ष मंसिर १ गतेदेखि जोलजिवी क्षेत्रमा मेला हुँदै आएको छ। जोलजिवी मेलामा जुम्ला तथा हुम्लाका घोडा, कपडा तथा खाद्यान्नको समेत व्यापार हुने गरेको छ।