काठमाडौँ : आयोजक राष्ट्र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
भारतले बुधबार खेलिएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो ।
ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने ४८.५ ओभरमा अलआउट हुनुअघि तीन सय २७ रनमात्र बनाउन सक्यो ।
मुम्बइस्थित वानखेड स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको भारतका लागि प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी सतक बनाएका थिए । उनले टोलीका लागि एक सय १७ रनको योगदान गरेका थिए । यसक्रममा उनले एक सय १३ बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काएका थिए ।
विराटले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान पनि तोडेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको सतक सँख्यालाई उछिनेका हुन् । न्युजिल्यान्डविरुद्धको खेलमा सतक बनाएसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको सतक सँख्या ५० पुगेको छ ।