काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धी कागजात प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग मागेको छ।
समितिका सचिव सुरजकुमार दुराका अनुसार ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेका छन्।
समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा ‘वास्तविकता के हो त्यससम्बन्धी कागजात मगाउन निर्देशन गरे’अनुसार समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको हो।
उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिएका छन्।
नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्दै ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
प्रारम्भिक छानबिनपछि अख्तियारले प्रमाण खुलेमा कानुनबमोजिम हुने गरी उजुरी तामेलीमा पठाएको थियो। प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीको नागरिकतामा उमेर २०२४ चैत २१ र प्रहरीको सिटरोलमा २०२५ भदौ २६ उल्लेख छ।
सम्बन्धित समाचार :
एआईजी ज्ञवालीको जन्ममिति छानबिन गर्न निर्देशन