काठमाडौँ : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धी कागजात छानबिन गरी पेस गर्न संसदीय समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
जन्ममिति ढाँटेर प्रहरी सेवा प्रवेश गरेको भन्दै उजुरी परेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न शुक्रबार निर्देशन दिएको हो।
नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्दै ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
प्रारम्भिक छानबिनपछि अख्तियारले प्रमाण खुलेमा कानुनबमोजिम हुने गरी उजुरी तामेलीमा पठाएको थियो। प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीको नागरिकतामा उमेर २०२४ चैत २१ र प्रहरीको सिटरोलमा २०२५ भदौ २६ उल्लेख छ।