धनगढी : दार्चुलाको लेकम गाउँपालिका–२ स्थित सरस्वती आधारभुत विद्यालयमा कार्यरत प्रधानाध्यापक अनिरुद्र भट्ट हराएको तीन महिनासम्म कुनै अत्तोपत्तो लागेको छैन। उनी बेपत्ताको घटना रहस्यमय बन्दै गएको छ।
भट्टको लेकम गाउँपालिका–२ स्थित सुँगरखाली स्थायी घर हो। स्थानीयका अनुसार उनलाई विद्यालय प्रशासन सञ्चालन सम्बन्धि कार्य सन्तोषजनक नरहेको भनी स्थानीय जनप्रतिनिधिहरुले पटकपटक दबाब दिने र तनाव उत्पन्न गराउने गरेका थिए।
तर, प्रअ भट्ट भने आफूमाथि राजनीतिक आस्थाको आधारमा प्रतिशोधपूर्ण व्यवहार गरिएको बताउदै आएका थिए।
यसैबीच, भट्टको खोजी कार्य गरेको भएपनि अहिलेसम्म अज्ञात नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।
‘उहाँको घर ठेगाना र सम्भावित क्षेत्रमा खोजिएको हो। अहिलेसम्म फेला पर्नुभएको छैन्। पहिला प्रहरी पनि लगाएकै हौं। बेलाबेलामा सम्बन्धित ठाउँमा प्रहरी लगाएर खोजेका हौं,’ उनले भने, ‘अहिलेसम्म केही खबर आएन। उहाँसँग भएको फोन पनि घरमै छोडेर जानु भएको रहेछ। अहिलेसम्म अज्ञात नै छ।’