काठमाडौं : टिकटक प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ। अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। उनकाअनुसार ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार न्यायाधीश डा. कुमार चुडालको इजलासमा हुन लागेको हो। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, डा. सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।