काठमाडौं : नेपालमा अब दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाइने भएको छ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सरकारले निर्देशिका जारी गर्दै सञ्जाल सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले अनिवार्यरुपमा दर्ता हुनुपर्ने व्यवस्था गरेको हो।
’सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८०’ अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कुनै पनि कम्पनी वा संस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ।
निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका प्लेटफर्मका हकमा भने निर्देशिका प्रारम्भ भएको मितिले तीन महिनाभित्र मन्त्रालयमा निवेदन दिएर सूचीकृत हुनसक्ने व्यवस्था गरिएको छ।
त्यसअघि मन्त्रालयले दर्ताका लागि सूचनामार्फत् आह्वान गर्नेछ। दर्ता हुन चाहने व्यक्ति, संस्था वा कम्पनीले आफ्ना प्रतिनिधिलाई मन्त्रालयमा पठाएर वा अनलाइनबाट पनि निवेदन दिन सक्नेछन्।
ती निवेदनमाथि जाँचबुझ गरी मन्त्रालयले सूचीकरण भएको निस्सा दिएपछि मात्रै त्यस्ता कम्पनी वा संस्थाले सामाजिक सञ्जाल चलाउन पाउनेछन्।
यसरी सूचीकृत भएका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले प्रत्येक तीन वर्षमा अद्यावधिक गराउनुपर्ने छ।
तर, नागरिक शिक्षा तथा सामाजिक सशक्तिकरणमा मात्र केन्द्रित भई सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मका हकमा भने यो निर्देशिका आकर्षित नहुने जनाइएको छ।