बैतडी : बैतडी जिल्ला सदरमुकाममा खानेपानीको समस्या भएको छ। साना सहरी खानेपानीको पाइपमा चुना (क्याल्सियम) जमेर आपूर्ति नभएका कारण समस्या आएको हो।
सदरमुकाममा विगत चार, पाँच दिनदेखि खानेपानी वितरण नियमित हुन नसकेको स्थानीयको गुनासो छ। आठ वर्षअघि १४ करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द भएका छन्।
सो समस्यासँगै दशरथचन्द नगरपालिका–४, सदरमुकाममा खानेपानीको सङ्कट चुलिएको छ। यहाँ एक हजार ६० वटा धारा छन्। दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ छ इन्च पाइपभित्र क्याल्सियम जम्दा पानी आपूर्तिमा समस्या भएको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिए।
सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्नेमा हाल तीन लाख लिटर आपूर्ति हुन थालेको छ । उपभोक्तालाई चार दिनमा एक छाक पानी दिने गरेको उनले बताए।
चार दिनमा एक छाक पानी आउन थालेपछि सदुमकाम क्षेत्रमा डेरा गरी बस्ने विद्यार्थी र होटल सञ्चालकलाई समस्यामा परेको स्थानीय श्याम खत्रीले बताए। पानीका कारण होटल बन्द गर्नुपर्ने अवस्था आएको छ।
सात किलोमिटर टाढा रहेको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट आपूर्ति हुने पानीको पाइप फेर्न सके मात्र दैनिक रूपमा पानी वितरण गर्न सकिने जनाइएको छ।
ग्वाल्लेकको पानीमा क्याल्सियमको मात्रा बढी भएका कारण सात, आठ वर्षमै पाइपको व्यास घटेर चार इन्च बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख गोविन्द देवकोटाले बताए।