महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीम वाटिकामा भीमदत्त पन्तको शालिक तोडफोड भएपछि सुरक्षामा खटिएका प्रहरीमाथि कारवाही गर्ने भएको छ ।
प्रहरी उपरीक्षक कमल थापाले शालिक तोडफोडमा सुरक्षा कमजोरी भएको स्वीकार गरी प्रहरीलाई स्पष्टीकरण सोधेर कारवाही गर्ने बताएका हुन् ।
शालिक तोडफोडपछि प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देबकोटा, भीमदत्त पन्त स्मृति प्रतिष्ठान र भीम वाटिका संरक्षण समितिका प्रतिनिधि सहितको छलफलमा प्रहरी उपरीक्षक थापाले सुरक्षा कमजोरी भएको स्वीकार गरेका हुन् ।
राप्रपाले राजसंस्था पुनःस्थापना अभियानका लागि गरेको प्रदर्शनका क्रममा सहभागीहरुले पार्कभित्र प्रवेश गरी पन्तको शालिक तोडफो गरेका थिए । प्रहरीले शालिक तोडफोड भएपछि दुई राउण्ड हवाई फायर प्रहार गरी भीडलाई तितरवितर गरेको थियो । उनीहरुले पार्क प्रवेशद्वारमा भीम वाटिका लेखिएको नाम मेटाई दिएका छन् ।
राप्रपा प्रदर्शनमा सुरक्षाका लागि वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएका थिए । छलफmलमा सहभागीले शालिक तोडफोड हुँदा प्रहरी मौन बसेको गुनासो गरेका थिए ।
छलफलमा सहभागी भीम वाटिका संरक्षण समितिका अध्यक्ष भट्टले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक दुबैले शालिक तोडफोडमा संलग्न सबैलाई पक्राउ गरी कारवाही गरिने प्रतिवद्धता जनाएको बताए ।
उक्त शालिक भीमदत्त स्मृति प्रतिष्ठाले स्थापना गरेको थियो ।