धनगढी: नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले भूकम्प प्रभावित क्षेत्रमा धमाधम काम गरिरहेको हो। हालै गएको भूकम्पले क्षतिग्रस्त जाजरकोट र पश्चिम रुकुमका विभिन्न स्थानहरुमा एमालेका यी दुई संगठनले लगातार काम गरिरहेका हुन्।
केन्द्रिय कमिटीको टोलीसहित सुदूरपश्चिम र कैलालीका अनेरास्ववियु र युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा गएर क्षतिग्रस्त भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा कार्य गरिरहेको बताइएको छ। अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राईले अहिले अनेरास्ववियुका स्वयंसेवकहरुले धमाधम पुनर्निर्माणको काम गरिरहेको जानकारी दिए।
यस्तै अनेरास्ववियुकै केन्द्रिय कमिटी सदस्य किशोर शाहले पनि प्रभावित क्षेत्रमा स्थानीय तथा विद्यार्थी र बालबालिकाको अवस्था दयनीय रहेकोले आफूहरु श्रमदान गरि जनजीवन सामान्य बनाउन लागिपरेको बताए।
केही दिनअघि मात्रै नेकपा एमालेले खटाएको ११०० स्वयंसेवकको टोलीले रुकुम र जाजरकोटमा भग्नावशेष व्यवस्थापन र अस्थायी बनाउन थालेको हो। एमालेले तयार गरेको युवा स्वयंसेवक दस्तासहित विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुखसमेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको टिम अहिले रुकुम र जाजरकोटमा क्रियाशील छ।
सो दस्ताले विगत पाँच दिनदेखी जाजरकोट र रुकुममा पुनर्निर्माण तथा भग्नावशेष व्यवस्थापन गरिरहेको छ। यस्तै सुदूरपश्चिमबाट गएको राष्ट्रिय युवा सङ्घ नेपालले पनि सो क्षेत्रमा श्रमदान गरिरहेको प्रदेश अध्यक्ष अरुण कँवरले बताए।