धनगढी: केपी ओली कप टी–२० क्रिकेटमा सहभागी हुने सुदूरपश्चिम प्रदेशको क्रिकेट टिमकाे बिदाइ गरिएको छ। शनिबार एक कार्यक्रमकाबीच धनगढीको होटेल जुमेरामा बिदाइ गरिएको हो।
बिदाइ तथा शुभकामना कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र साउँद प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा परशुराम नगरपालिका डडेल्धुराका मेयर भरत जोशी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी, सचिव लक्ष्मण भट्ट तथा क्यान कैलालीका पदाधिकारीले जीतको शुभकामना दिँदै टोलीको बिदाइ गरेका थिए।
सुदूरपश्चिमको टोलीलाई धनगढीको मायामेट्रो अस्पतालले जर्सी प्रायोजन गरेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्टले जानकारी दिए।
उनका अनुसार राजु रिजालको कप्तानीमा रहेको सुदूरपश्चिम प्रदेश समूह सी मा रहेको छ । सुदूरपश्चिमले मंसिर ११ गते मधेस प्रदेश र १२ गते नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
सुदूरपश्चिमको टोलीमा राजु रिजाल (कप्तान), नारायण जोशी (उपकप्तान) , खडक बोहरा, वसन्त सिंह कार्की, सुरज तिरुवा, आयुब चन्द, किरण कुमार ठगुन्ना, विकास आग्री, नरेन साउँद, वसन्त खत्री, कैलाश ऐर, गजेन्द्र बोहरा, अबिशेक पाल र भोजराज भट्ट रहेका छन्।
४ खेलाडी टोलीको वैकल्पिक सुचीमा रहेका छन् वैकल्पिक खेलाडीहरूमा खगेन्द्र जोशी,सुशील रावल,भरत चन्द र वीरेन्द्र बम रहेका छन्।