विराटनगर : कोशी प्रदेश सभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ ।
बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज सर्वसम्मत पारित भएको हो ।
सो प्रस्ताव मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा नियावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गरेका थिए । सो प्रस्तावलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्तुत गर्दा सदनले सर्वसम्मतिले पारित गरेको हो ।
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकअनुसार चालु आवका लागि कूल रु. ३६ अर्ब ७० करोड ८७ लाख २५ हजार बजेटमा पुँजीगत खर्च रु. २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र चालु खर्च रु. १६ अर्ब ३१ करोड ३६ लाख ४३ हजार विनियोजन भएको छ । बजेटमा रु. तीन करोड ४७ लाख ८५ हजार थप व्ययभार हुने उल्लेख छ ।
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी बजेट विनियोजन गरेको दाबी गरे । समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्ने गरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको भन्दै उनले विकास र समुन्नत प्रदेशको यात्रा प्रारम्भ भएको दाबी गरे ।
मानव पुँजीलाई उच्च प्राथमिकतामा राखी गरिबी निवारण गर्नेतर्फ बजेट केन्द्रित भएको बताउँदै उनले राजस्वको आयव्ययमा सामान्य परिमार्जन गरेको जानकारी दिए । सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिमार्जन गरी पूर्णतः मुख्यमन्त्रीले समावेश गरेको महत्त्वपूर्ण योजनामा कुनै फेरबदल नगरी रु. २० लाखभन्दा मुनिका योजना हटाई अरू योजनाका लागि स्रोतको सुनिश्चितता गरेको जानकारी दिए । बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।