मोरङ : मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई पढाउन थालेका छन् ।
विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पढाइमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँले पढाउन थालेको अध्यक्ष गोविन्द भण्डारी बताए। अध्यक्ष भण्डारी यही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानाध्यापकसमेत थिए ।
शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती पनि बेलबारी-३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक थिइन् । उनले पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमानसँगै वैदेशिक रोजगारीमा गएकी छन् ।
लामो समय सोही विद्यालयमा अध्यापन गराएका भण्डारी सेवा निवृत्त भएपछि यही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमले स्थानीय पालिका तथा विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र नआएको, शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको बताए ।