पिथौरागढ: भारतको उत्तराखण्डस्थित पिथौरागढको वड्डामा भारतीय महिलाको हत्या भएको छ। सुवाकोटकी ६५ वर्षीया माधवीदेवी चिलकोटीको हत्या घटनामा नेपाली युवकमाथि भारतीय प्रहरीको शंका गरेको छ।
सञ्चारमाध्यमका अनुसार ती महिलाको शव आइतबार बिहान कोठामा भेटिएको थियो। उनको घाँटी थिचेर हत्या गरिएको आशंका छ।
ती महिला परिवारसँग भारतको राजधानी दिल्लीमा बस्थिन्। केही दिनअघि मात्रै उनी पिथौरागढ आएको खुलेको छ। भारतीय प्रहरीका अनुसार मृतक महिलाको पिढौरागढमा पनि घर छ। पिथौरागढको घर उनले मजदुरहरुलाई भाडामा दिएकी छन्। प्रहरीले मृतकको घरमा भाडामा बस्ने मजदुरसँग सोधपुछ गरिरहेको छ।
घरको सीसीटीभी फुटेज पनि सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेजमा भाडामा बस्ने एक नेपाली युवक देखिएकाले उनीमाथि अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
ती नेपाली युवकको पहिचान खुलाइएको छैन। उनको खोजीको लागि प्रहरीले सीमामा अलर्ट जारी गरेको छ।