बझाङ– नेकपा माओवादी केन्द्रले बझाङका दुई पालिकामा उम्मेवार छनोट गरेको छ । माओबादीले छविसपाथिभेरा गाउँपालिका अध्यक्षका लागि बसन्तबहादुर चलाउनेलाई उम्मेदवार बनाएको छ ।
पालिका बाँडफाडको क्रममा माओवादी केन्द्रले अध्यक्ष पाएको छविसपाथिभेरा गाउँपालिका अध्यक्षमा चलाउने सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव तथा संविधानसभा सदस्य जनक बुढाले बताए।
बझाङमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुँदा माओवादी केन्द्रले छविसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा प्रमुख र ४ वटा गाउँपालिकामा उपप्रमुख पाएको छ। चलाउने छविसपाथिभेराका वडा नम्बर ६का स्थायी बासिन्दा हुन्।
यस्तै बझाङकै दुर्गाथली गाउँपालिकामा तीनदलिय गठबन्धनको साझा उम्मेदवारमा नेकपा माओवादी केन्द्रका नेता दिलबहादुर थापा ‘तुफान’ घोषणा भएका छन्। नेता थापा दुर्गाथली गाउँपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हुन्।
बझाङमा दुर्गाथली र छविसपाथिभेरा गाउँपालिका माओवादी केन्द्रको बलियो आधारका रुपमा मानिएका छन्।