दार्चुला : दार्चुलामा दुईओटा बस एकआपसमा ठोक्किएका छन्। सोमबार दिउँसो महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका –८ थप्तोली भन्ने ठाउँमा बसहरु एकआपसमा ठोकिएका हुन्।
दुई बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति भएको भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको सुपप्र ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुपप्र ०१००१ ख २३९३ नम्बरको नगर बस एकआपसमा ठोक्किएका हुन्।
महाकाली नगरपालिकाको नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो। दुवै बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
एकआपसमा बस ठोक्किएपछि अहिले महाकाली राजमार्ग अवरुद्ध रहेको छ। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।