काठमाडौं : टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरको छ। टिकटकमा जस्तै प्रयोगकर्ता लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि समेत प्रतिबन्ध लगाउने आशयका साथ निगरानी बढाइएको बीबीसी नेपाली सेवाले जनाएको छ।
बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले त्यस्ता एपलाई सोसल मिडिया नभई एन्टी सोसल मिडिया भएको बताएका छन्। ‘तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउने बाहेक केही पनि गरेका छैनन्,’ उनले भनेका छन्, ‘हामी यसको प्राविधिक पक्षक र समाजमा पारेका सकारात्मक र नकारात्मक प्रभावहरू बारे अध्ययन गरिरहेका छौं।’
रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले विज्ञहरू सहितको एउटा टोली बनाएर त्यस्ता एपहरूको निगरानी गरिरहेको छ।
गत २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेको थियो।