कञ्चनपुर: निर्माण व्यवसायीबाट कुटिएका लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीविरुद्ध लालझाडीका स्थानीयले आन्दोलन गरेका छन्।
निर्माण व्यवसायी र उपभोक्ताबाट घुस लिने गरेको आरोप लगाउँदै लालझाडीका केही स्थानीयले बुधबार गाउँपालिका कार्यालय पुगेर नाराबाजी गरेका हुन्।
सोमबार इन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी भीमबहादुर रानाको समूहले कुटपिट गरेको थियो। मंगलबार इन्जिनियर अवस्थीले ठेकेदार रानासहित चारजनाविरुद्ध प्रहरीमा उजुरी दिएपछि बुधबार स्थानीयले उनीविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी अधिकांश निर्माण व्यवसायी रानानिकट र उनका आफन्त भएको बताइएको छ। सोमबार इन्जिनियरमाथि भएको हातपातको घटना पनि घुस मागेकै कारण उत्पन्न भएको उनीहरूको भनाइ छ।
घुस माग्दा नदिएपछि इन्जिनियरले सताएका र ठेकेदार भीम राना समूहले सामान्य धकेलाधकेल मात्रै गरेको विषयमा निर्दोषलाई फसाउन खोजिएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।