बझाङ : ३५ वर्ष शिक्षण पेशामा बिताएका बझाङका ६३ वर्षीय गणेशबहादुर सिंह कानुन विषय पढ्दै छन्। सिंह सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा कानुन संकायमा भर्ना भएका हुन्।
२०१७ सालमा बझाङको बुङ्गल नगरपालिकामा जन्मिएका सिंह २५ वर्षका हुँदा २०४२ सालमा स्थायी भइ शिक्षण पेसामा आबद्ध भएका थिए।
महादेव माध्यमिक विद्यालयबाट शिक्षण पेसा सुरु गरेका उनले भवानी प्राथमिक विद्यालय मजिवन र दुर्गा प्राथमिक विद्यालय चिल्ठामा शिक्षण गरे।
शिक्षण पेसामा हुने बेलादेखि नै कानुनी कुरामा रुचि राख्थे, उनी। शिक्षणकै क्रममा उनले प्रहरी निवेदन, तमसुक जस्ता कानुनी कागजात बनाएर स्थानीयलाई सहयोग गर्दै आएका थिए।
धेरथोर कानुनी ज्ञान समेत आर्जन गरिसकेका उनी शिक्षण पेसाको अवकासपछिको जीवन अधिवक्ता (वकिल)को रुपमा बिताउन चाहेको बताउँछन्।
आफ्नो बुढेसकालको समय बिताउन कानुन संकाय नै उत्कृष्ट रहेकोले आफूले यश विषयलाई रोजेको उनी बताउँछन्।
‘धेरै जसो व्यक्तिले केही काम गरेपछि आफ्नो अवकासपछिको जीवन के गर्ने कसरी बिताउने भन्ने दोधार मै सकिन्छ ? तर, मैले पहिले नै योजना बनाएर राखेको थिए। म कानुन पढ्छु र सोही योजना अनुरुप नै भर्ना भएको हुँ,’ उनले भने।
कलेजमा सङ्गै पढ्ने साथीले सुरुमा बाजे भन्ने गरेकोमा भने उनी दुखी थिए। तर, आजभोलि भने उनलाई सबैले साथी भन्छन्।
आफू अहिले सुटबुट र टाइबेल्टमा सजिएर कलेज जान लागेको र भोलि कालो कोटमा सजिएर लेखापढिको काम गर्ने इच्छा आफूमा रहेको सिंहले बताउँछन्।