डडेल्धुराः नेपाल सरकारले विद्युत् विदेशमा निर्यात गरिरहँदा पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका नागरिक अन्धकारमा बसिरहेका छन्।
यहाँका भागेश्वर गाउँपालिको–४ बन्चुल्ल र वडा नम्बर ५ को चुल्ल गाउँका नागरिक अन्धकारमा बसिरहेका हुन्। उसो त यहाँ हरेक वर्ष दशैं तिहारमा विजुली बल्छ भनेर जनप्रतिनिधिले आश्वासन दिइरन्छन्।
तर, पोल गाडेको पनि दुई वर्षभन्दा बढी भइसकेको छ। तारहरु खिचिएको भएपनि कामको गतिले तीव्रता नपाउँदा बिजुली बल्नु सकेको छैन।
यस वर्ष तिहारमा विजुली बल्ने अपेक्षामा थिए, स्थानीयबासी। कारण, हो एउटा कार्यक्रममा भागेश्वरका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाले तिहारमा बिजुली बल्छ भनेका थिए।
तर, दशैं तिहारमा बिजुली बल्न सकेन्। सो समयमा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले तिहार लगत्तै १५ दिनभित्र चुल्ल गाउँमा बिजुली बल्ने प्रतिवद्धता जनाए। तर, १५ दिन बढी भइसक्दा पनि चुल्लमा बिजुली नबलेपछि स्थानीयले बल्ल थाह पाए अध्यक्ष चटौतले झुक्याएको।
यसअघि पनी चुल्लबासीले पटकपटक गाउँपालिकालाई गुहारेको भएपनि गाउँपालिकाले दशै तिहार भन्दै टार्ने गरेको स्थानीय अनुमोल बोहरा बताउँछन्। उनी भन्छन्, ‘दशैं तिहार भनेर झुक्काएको कति भयो कति।’
गाउँपालिकाको केन्द्र बगरकोटबाट नजिकै रहेको उक्त गाउँहरुमा एक डेढ घण्टा हिँडेर पुग्न सकिन्छ। गाउँपालिकाले चासो नदिँदा र जनप्रतिनिधिको झुटो आश्वासनले सञ्चार सेवा तथा पढाइमा बाधा पुगिरहेको स्थानीय विद्यार्थी सरिता भट्टले बताइन्।
तर, यता गाउँपालिका अध्यक्ष चटौतले समानको अभावको कारण गरेको प्रतिवद्धता पूरा गर्न नसकेको जिकीर गर्छन्। काम निन्तर भइरहेकाले केही दिनभित्रै चुल्ल गाउँमा बिजुली बल्ने उनको दाबी छ।