काठमाडौं : नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दले चर्चित सामाजिक अभियन्ता तारा बरालले भ्रम फैलाएर हनी–ट्रयापमा पार्न खोजेको आशंका व्यक्त गरेका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन्। बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनको भनाइ छ।
तारा बरालले आफूसँग विभिन्न रेकर्ड छ, भनेर भ्रम फैलाउने काम गरेको उनको भनाइ छ। आफू फकिरजस्तै भएको दाबी गर्दै उनले आफ्नो काठमाडौंमा कुनै घर, जग्गा, सम्पत्ति नरहेको बताए।
तारा बरालले भुँइमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको टिप्पणी गर्दै उनले दुराशय राखेर गरिएको कुनै काम बारे भ्रममा नपर्न आग्रह गरे।
उनले आफू र बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्धबाहेक अन्य नाजायज र अनैतिक सम्बन्ध नरहेको बताए।
सामाजिक सञ्जाल र विभिन्न मिडियाबाट तारा बरालसँग नभएको सम्बन्ध पनि छजस्तो गरी आएको समाचार र भइरहेका टीका टिप्पणीले पारिवारिक विचलन ल्याउने काम गरेको भन्दै उनले त्यसो नगरिदिन आग्रह गरे।