काठमाडौं: लुम्बिनीमा शनिबार बिहान स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दुई जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीस्थित लुम्बिनी–ककरहवा सडक खण्डमा आज बिहान ९ बजे दुर्घटना भएको हो।
रूपन्देहीको लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई लु १ क १७७८ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षका महम्मद इसाद र १६ वर्षकै रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो।
दुईघटनामा मोटरसाइकलमै सवार १२ वर्षकै अप्सना खानुत घाइते भएकी छन्। घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ। घाइते खातुनको अवस्था गम्भीर छ।
रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले उनीहरू एकै परिवारको रहेको बताइए पनि पुष्टि हुन बाँकी रहेको बताए।
महम्मदले बहिनी रूपसना र अप्सरा (भदैनी)लाई मदरसा लैजाँदै थिए। तर, मदरसा नपुग्दै दाजुबहिनीको दुर्घटनामा मृत्यु भएको छ। भदैनी गम्भीर घाइते छिन्। मोटरसाइकलमा तीन जना सवार थिए।
दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्। अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।
डीएसपी भट्टका अनुसार शनिबार स्कुल बस कहाँ जाँदै थियो भन्ने खुलेको छैन । बस चालक फरार रहेको र उनको खोजी भैरहेको उनले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विनोदकुमार श्रीवास्तवले मदरसा जाने क्रममा गाडीले ठक्कर दिएको बताए। मदरसा मुस्लिस समुदायका बालबालिका पढ्ने शैक्षिक संस्था हो। मदरसा शनिबार पनि खुल्ने गर्छ।