जाजरकोट: जाजरकोटको नलगाड नगरपालिकाकी भूकम्पपीडित एक किशोरीमाथि कुटपिटपछि बलात्कार भएको छ।
ठूली आमाको परिवारसँगै बसेकी उनी २६ कात्तिक राति नजिकैको चौरमा बलात्कृत भएकी हुन्।बलात्कार अभियोगमा २१ वर्षीय गोपाल वादी पक्राउ परेका छन्।
घटनाको अनुसन्धान गरेर प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालतमा शुक्रबार गोपालविरुद्ध अभियोगपत्र दायर गरेको छ।
अभियोग पत्रमा उल्लेख भएअनुसार २६ कात्तिकको अन्दाजी ८ः३० बजे पीडित किशोरी केही पर रहेको शौचालय पुुगेर फर्किँदै थिइन्।
पछाडिबाट मुख छोपी रुन कराउन नदिएर गोपालले उक्त स्थानदेखि करिब ६० मिटर पर रहेको कृषि विद्यालयनजिकैको बाँझो जग्गामा लगी लडाए र प्रतिकार गर्दा उल्टै कुटपिटपछि बलात्कार गरे।
बलात्कारपछि किशोरी हिँड्न नसक्ने भएको र आरोपीले नै काँधमा बोकेर त्रिपालले बनाएको ठूलीआमाको अस्थायी आवास छेउमै ल्याएर छाडेको पनि अभियोगपत्रमा उल्लेख छ।
पीडित किशोरीको बुुबा आमासहितको परिवार भारतमै मजदुरी गर्दै आएका छन्। किशोरी भने नागरिकता बनाउन भन्दै दसैँअघि नलगाड आएकी थिइन्। तर, बलात्कार भइन्।
बलात्कार घटनाका आरोपी गोपालले पीडितको योनीमा औँला छिराएको बयान दिएका छन्। करणी गर्न लाग्दा भने पीडितले रिङ्गटा लागेको भनेपछि करणी नगरेको उनको जिकिर छ।
उनका अनुसार, २६ कात्तिकको राति निद्रा नलागेपछि उनी ‘रोड–ढिक’ गीत सुनिरहेका थिए। त्यहीबेला पीडित नजिक आएको र कता जान लागेको हो भन्दा निद्रा नलागेपछि घुमफिर गर्न आएको भनेकी थिइन्।
यसपछि आफूले ‘आउ, यतै बसौँ’ भनेको र पीडित नजिक आएर बसेको बयानमा गोपालले उल्लेख गरेका छन्। किशोरी नजिक आएर बस्दा यौनसम्बन्धी कुरा गरेको र बालिकाले ‘यहाँ हुँदैन, मानिसहरू आउँछन्’ भनेपछि कृषि विद्यालयपछिको बाँझो जग्गामा गएको पनि गोपालको बयान छ।
सोही जग्गामा पहिले पीडितको योनीमा औँला छिराएको र पछि रिङ्गटा लागेको भनेकाले करणी नगरेको गोपालले बयान दिएका छन्। किशोरीको योनीमा औँला छिराउनुलाई पनि करणी नै मान्ने गरिन्छ। यसपछि सरकारी वकिल कार्यालय जाजरकोटले शुक्रबार जिल्ला अदालतमा गोपालविरुद्ध जबजस्ती करणीसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको छ।
पीडित १८ वर्षभन्दा कम उमेरका भएका कारण सरकारी वकिल कार्यालयले अभियुक्त गोपाललाई १० वर्षसम्म कैद सजाय र तीन लाख रुपैयाँ जरिवानाको माग दाबी गरेको छ। जिल्ला सहन्यायाधिवक्ता निर्मलकुमार पुनले अभियोजन गरेको अभियोग पत्रमा जरिवानावापतको रकम क्षतिपूूर्तिस्वरूप पीडितलाई दिन माग गरेका छन्।