काठमाडौं : दोलखाको बिगु गाउँपालिका-१ बाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १४ जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।
शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले सुन प्रकरणमा दावा भन्ने आकार लामा, टासी भन्ने ग्याङ रू, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लाल बहादुर तामाङ, केशर तामाङ र माधवकुमार मगर गरी ९ जनालाई थुनामा पठाउन आदेश गरेको हो।
सोही प्रकरणमा पक्राउ परेका तिलक विकलाई ८८ लाख, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ।
उनीहरूले तस्करी गरेर ल्याइएको सुन किनेको मात्रै देखिएकाले धरौटीमा छाडिएको आदेशमा उल्लेख छ।
तस्करी गरेर ल्याइएको सुनमध्ये लालबहादुर तामाङले तिलक विकलाई ८० तोला, दीपेन्द्रराज शाक्यलाई ८५ तोला र नारायण बहादुर श्रेष्ठलाई ९० तोला बिक्री गरेको पाइएको थियो।
उनीहरू धरौटीवापतको रकम तिर्न असमर्थ भए थुनामा पठाउन पनि अदालतले आदेश गरेको छ। असोज १० गते ञाङलुक नाकाबाट दोलखा हुँदै काठमाडौं ल्याउन लागिएको सुन प्रहरीले बरामद गरेको थियो।
सुन प्रकरणमा जिल्ला प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले संयुक्त रूपमा अनुसन्धान गरेको थियो।