डडेल्धुरा : डडेल्धुरा अस्पतालमा कार्यरत डा. असिम पाण्डेयले घरघरमा गएर स्वास्थ्य परामर्श दिने भएका छन्। हप्ताको एक दिन नि:शुल्क स्वास्थ्य परामर्शका लागि उनी बुद्धबुद्धाको घरघर जाने भएका हुन्।
उनले दिने यो सुविधा अमरगढी नगरपालिका बासीले मात्रै पाउने भएका हुन्। पहिलो चरणका लागि आगामी हप्तादेखी अमरगढी नगरपालिका क्षेत्रभित्र उनले नि:शुल्क परामर्श दिने छन्।
जाडोयाम बढेसँगै ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ परामर्श सेवा प्रदान गर्न लागेको डाक्टर पाण्डेयले बताए।
सेवा लिन चाहनेले ९८४८७३७९२१ मा सम्पर्क गर्न सक्नेछन्। जाडो याममा अस्पतालसम्म पुग्न नसक्ने बुढापाका तथा सहाराबिहीनलाई टेवा पुग्ने उदेश्यले यो अभियान चालिएको डा. पाण्डेय बताउँछन्।
डा. पाण्डेयको पुर्खाैली घर अमरगढी नगरपालिका-२ आइत हो भने उनी हाल काठमाडौ बस्दै आएका छन्।उनले केही दिन अघि मात्रै डडेल्धुरा अस्पतालमा मेडिकल अफिसर (आठौं)मा नाम निकालेका थिए।