धनगढी: सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको सरुवा प्रकरणमा परेका उजुरीको अझै छिनोफानो भएको छैन। मन्त्रालयका कर्मचारीहरुले मापदण्डविपरीत सरुवा गरिएको विषयमा दिएको उजुरीउपर कुनै कारबाही नभएको हो।
मन्त्रालय स्रोतका अनुसार उजुरी परेको २ महिना भन्दा बढी बित्दा पनि सो सम्बन्धमा कुनै छिनोफानो नभएको हो।
सामाजिक विकास मन्त्रालयले गत भदौ २९ गते प्रदेश निजामति कर्मचारी सरुवा तथा काज सम्बन्धि मापदण्ड २०८० विपरीत राजनीति र आर्थिक स्वार्थमा कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा निवेदन परेका थिए। ७ जना कर्मचारीले सरुवाका सम्बन्धमा मुख्यमन्त्री कार्यालयमा उजुरी गरेका थिए। सामाजिक विकास मन्त्रालयले त्यसबेला ३० जना कर्मचारीको सरुवा गरेको थियो।
तीमध्ये सात जनाले मापदण्डविपरीत सरुवा गरिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएका हुन्। सरुवाको १५ दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिन सकिने कानुनी व्यवस्था अनुरुप उनीहरूले उजुरी दिएका थिए। तर उनीहरुले सरुवाको निर्णय सच्च्याउन माग गर्दै दिएको उजुरी निवेदनउपर भने कुनै कारबाही सुरु भएको छैन।
मुख्यमन्त्री कार्यालयले सोही बेला ती उजुरीहरु सामाजिक विकास मन्त्रालयलाई यथासम्भव टुङो लगाउन भन्दै उजुरीसहित पत्राचार गरेको भएपनी अहिलेसम्म कुनै टुंगो नलागेको एक कर्मचारीले जानकारी दिए। उनका अनुसार हालै सरुवा भएर गएका तत्कालीन सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालका कारण उजुरीमाथिको कारबाही लम्बिएको हो।
स्रोतका अनुसार उजुरीको टुंगो लगाउन मुख्यमन्त्री कार्यालयले पत्राचार गरेको केही दिनमै तत्कालीन सचिव ढकाल बिदामा बसेका थिए। त्यसपछि छठको बिदापछि भने आफैं सुदूरपश्चिमबाट बिदा भएर गए। यानिकी उनको प्रदेश नीति तथा योजना आयोग बाग्मती प्रदेश कार्यालयमा सरुको भएको थियो।
उनी गएपछि ती उजुरीको सवाल झन बेवारिसे बनेको हो। सरुवाको निर्णय सच्चिने अपेक्षामा रहेका कर्मचारीहरुलाई भने मन्त्रालयको ढिलाईका कारण थप सकस परेको छ। आफ्नो सरुवा हुनु अगाडि भने सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव ढकालले कर्मचारी सरुवामा केही त्रुटी भएको स्वीकार गरेका थिए। ढकालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आउने निर्देशनबमोजिम त्रुटी सच्याइनेसमेत जनाएका थिए।
तर उनकै सरुवा भएपछि सो विषय अहिले मन्त्रालयका निमित्त सचिव गणेश सिंहले हेरिरहेका छन्। उनले आफूहरुलाई हालै पत्र आएको दाबी गर्दै सो सम्बन्धमा आफूहरु छलफलमै रहेको बताए। छलफल गरेर सरुवाका विषयमा परेका उजुरीको हल खोजिने उनको भनाइ छ।