काठमाडौँ : प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ ।
बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।
एनसेलको शङ्कास्पद शेयर खरिद-बिक्रीबारे चर्चा र बहस भइरहेका बेला सत्तारुढ तीन दलका नेताहरूबिच भेटवार्ता र छलफल भएको हो । नेताहरूबिच एनसेल खरिद विक्री प्रकरण बारे कुराकानी भएको बुझिएको छ । तीन नेताबिच छानबिनका लागि समिति गठन गर्नेबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।
मङ्गलवार साँझ पनि गठबन्धन दलका नेताहरूबिच भएको छलफलमा उक्त कारोबार शङ्कास्पद भन्दै छानबिन गर्ने सहमति जुटेको थियो । तर सरकारले छानबिन समिति भने गठन गरिसकेको छैन । बुधवार संसद्का २ वटा संसदीय समितिमा पनि एनसेलबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो ।